जैविक विविधताको धनी देश नेपालले यहाँ हुने विविधताको संरक्षण र ब्यवस्थापन गर्न स्व–स्थानीय (In-situ) र पर– स्थानीय -Ex-situ) संरक्षणको नीति लिएको पाईन्छ । स्व–स्थानीय संरक्षणको लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्रको स्थापना र व्यवस्थापन गर्दै वन्यजन्तु संरक्षणबाट वातावरणीय सन्तुलन तथा आर्थिक विकासका लागि नेपाल सरकारबाट फरक–फरक व्यवस्थापकीय पद्धति अवलम्बन गरी समयfनुकुल विविध प्रयासहरु गर्दै आएको छ,  जसबाट वन र वन्यजन्तु संरक्षण सम्बन्धी शिक्षाका साथै जैविक विविधता र यसको महत्व बारेमा प्रचारप्रसार अध्ययन अनुसन्धान, टुहुरा तथा घाइते वन्यजन्तुहरु व्यवस्थापन हुँदै आएको छ ।  त्यसैगरी वंशाणुगत विविधताको संरक्षणको लागि चिडियाखाना, प्रजनन केन्द्र र प्राणी उद्यान स्थापना र सञ्चालनबाट सरकारले पर–स्थानीय संरक्षणको प्रयास गर्दै आएको छ ।

पर–स्थानीय संरक्षणलाई दिगो रुपमा विकास गर्न सकेमा संकटमा परेका वन्यजन्तु एवम् वनस्पतिको संरक्षण गर्न, प्रकृतिको महत्व र आवश्यकताको बारेमा आम समुदायमा जनचेतना अभिवृद्धि गर्न, स्कुल शिक्षा अन्तर्गत विद्यालय तहदेखि विभिन्न तहमा संरक्षणसम्बन्धी शिक्षा प्रदान गरी प्राकृतिक स्रोत भावी पुस्ताको लागि उपहारको रुपमा हस्तान्तरण गर्न र प्रकृतिमा आधारित पर्याप्त पर्यटन प्रवर्धन गरी सरकारले लिएको नीति बमोजिम स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरी देशको आर्थिक समृद्धिमा योगदान गर्न आर्थिक वर्ष २०७३–०७४ को बजेट वक्तव्यमा नेपालको सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरी बजेटलाई कार्यान्यवन गर्ने क्रममा तनहुँ जिल्लाको साविक घाँसीकुवा र बरभञ्ज्याङ गा वि स (हाल व्यास नगरपालिका वडा नं ११, १२ र भानु नगरपालिका वडा नं ५, ६) आसपासका आठवटा सामुदायिक वनको आंशिक क्षेत्र, पाँचवटा कबुलियती बन,  निजी आवादी तथा खोलानाला, ऐलानी, पर्ति र राष्ट्रिय वनको भागलाई समेटि जम्मा ४२५ हेक्टर क्षेत्रफलको भूभागलाई मिति २०७३–१०–२० मा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भानुभक्त प्राणी उद्यानको घोषणा भई मिति २०७४–०१–१८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी भानुभक्त प्राणी उद्यानको विधिवत स्थापना भएको पाइन्छ।

तत्पश्चात कार्यालय स्थापना गरी सुरु गरिएको कार्यालय भवन निर्माण, तोकिएको क्षेत्रलाई तारबार, गुरुयोजना तयारी र स्वीकृत कार्यक्रमहरुलाई कार्यन्वयन गर्दै व्यक्तिको नीजि जग्गा अधिग्रहण र मुआब्जा वितरणको लागि लगत संकलन सहित प्रारम्भिक कारबाही सम्पन्न भइसकेको, त्यसैगरी गोरेटोबाटो, वनपथ जस्ता भौतिक पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुनु का  साथै स्थानीय जनता र विद्यार्थीलाई जैविक विविधता पर–स्थानीय संरक्षण र वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु संचालन गरी स्थानीयस्तरमा जनचेतनाको अभिवृद्धि गर्दै जैविक विविधताको संरक्षणमा लागिएको उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी गराउनुभएको छ ।

वन्यजन्तुहरुको पर–स्थानीय संरक्षण मार्फत आमोद–प्रमोदलाई वढावा दिई स्थानीयस्तरमा रोजगारीहरु सिर्जना गरी राष्ट्रिय समृद्धि हासिल गर्न टेवा पुर्याउने दूरदृष्टि, स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउनको लागि नेपालका रैथाने वा गैर रैथाने वन्यजन्तु सहितको उद्यानको स्थापना र सञ्चालन गर्ने गन्तव्य र नेपालका रैथाने र गैर थाने वन्यजन्तुको संरक्षण गर्नु, वन्यजन्तु संरक्षण मार्फत आमोद–प्रमोद प्रदान र संरक्षण शिक्षा प्रदान गर्नु, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्नु, पर्या– पर्यटन प्रवर्द्धन गरी स्थानीय जनताको जीवनस्तर वृद्धि गर्न टेवा पुर्याउनु, घाइते र टुहुरा वन्यजन्तुको उद्धार र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापित प्राणी उद्यानको ८४ प्रतिशत वन क्षेत्र, ७ प्रतिशत कृषि क्षेत्र, ५ प्रतिशत नदी, खोला, खोल्सा र ४ प्रतिशत अन्य क्षेत्र रहेको छ। त्यसैगरी ३५६ हेक्टर सामुदायिक वन, १६ हेक्टर कबुलियती वन,  २३.६४ हेक्टर नदी, खोला, खोल्सा, राष्ट्रिय वन र २९.३६ हेक्टर निजी आवादी भूउपयोग रहेको तथ्याङ्क पाउन सकिन्छ ।

cctv & security installation service all over the Gandaki District

गण्डकी प्रदेशमा पर्ने ११ वटा जिल्लामध्ये दक्षिण पूर्वी भेगमा अवस्थित तनहुँ जिल्लामा रहेको भानुभक्त प्राणी उद्यान पृथ्वीराजमार्ग संग जोडिएको हुँदा यातायातको दृष्टिकोणबाट सहज पहुँचमा रहेको छ । ठूलो क्षेत्र, भूबनोट र हावापानीका साथै प्रशस्त मात्रामा पानीको स्रोत भएकोले नेपालको भौगोलिक विविधता अनुसार पाइने वन्यजन्तुलाई उपयुक्त वासस्थान हुने देखिन्छ । 

महत्वपूर्ण ऐतिहासिक सांस्कृतिक र धार्मिक क्षेत्रका साथै जातीय विविधता समेत रहेको यस क्षेत्र चितवन, बन्दीपुर, पोखरा र लुम्बिनी लगायत प्रमुख पर्यटकीय गन्तव्यहरुको नजिकमा हुनु नै यस प्राणी उद्यानको सम्भावना र अवसर हो भनी लिन सकिन्छ ।

भानुभक्त प्राणी उद्यानको चारैतिर वन क्षेत्र र यसको उचाई ४१५ मिटरदेखि ८२४ मिटरसम्म भएकोले भिन्न–भिन्न हावापानीमा रहने वन्यजन्तुको लागि सुहाउँदो वातावरण रहेको पाउन सकिन्छ । यस क्षेत्रमा वनस्पती प्रजातीका साल, कटुस, चिलाउने, क्यामुनो, खयर, पड्के, बुलड्याङ्ग्रो (बोटधयँरो), चाँप, भलायो, रातोपाते, सिमल, लाँकुरी, आँप, केरा, खिर्रा, बेल, साज, कुटमिरो, गिद्देनी, गोवरी, कुरीलो, अमला, जामुन, अमरा, तुथो, टाँकी, टुनी, बकाईनो, पाखुरी, डुम्री, दवदवे, धयरो, अंगेरी, पाती, हर्रो, बर्रो, सिरिस, सिम्लीगान, सिन्दुरे, इपिलइपिल, पँदेल, कुंयालो, भकिम्लो, लालुपाते, खनायो, ठोट्ने, तेजपात, नुनढिके, अर्चले, नीउरो, गिठा, भ्याकुर, आरु, आरुबखडा, लिची, निवुवा, कागती, रुखकटहर, समी, पिपल, वर, चिउरी, विडी, सान्दन, खमारी, सिस्नो आदि पाइन्छन् । त्यसैगरि वन्यजन्तु प्रजाती मध्ये स्तनधारीहरुमा चितुवा, बाँदर, खरायो, रतुवा, दुम्सी, ओत, साँवे, वन विरालो, स्याल, लंगुर, रातो बाँदर, मलसाप्रो, लोखर्के, न्याउरी मुसो, भ्याल्सो, चरिबाघ, चमेरो आदि, पंछीहरुमा तित्रा, वन कुखुरा, कोकले, डाँग्रे, काग, गिद्द, बाज, हुतुरुङ, लाटो कोसेरो, भँगेरा, ढुकुर, चिवे, जुरेली, कोईली, कालिज, हाप्सिल, लामपुच्छ्रे, शिकारी चरो, बट्टाई, काफल पाके चरा, सुगा, न्याउली, हुटिट्याउँ, ठेउवा, काकाकुई, गौथली, तोरीगाँडा, माटीकोरे आदि र घस्रने तथा उभयचर प्रजातिहरुमा गोहोरो, नाग, गोमन, अजिङ्गर, हरेप, भ्यागुता, छेपारो आदि पाउन सकिन्छ ।

contact: 9849209028/9824103717/9805805707

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष आयोजना अन्तर्गत पर्याप्त बजेट छुटयाइएको भएतापनि कार्यप्रगति न्यून रहेको तथ्याङ्क पाउन सकिन्छ । उक्त आयोजना अन्तर्गत रही यस प्राणी उद्यानमा भएका मुख्य कार्यक्रमहरुमा फेन्सिङ निर्माण कार्य, कार्यालय भवन निर्माण, कर्मचारी आवास निर्माण, (अधुरो), भ्युटावर निर्माण (अधुरो), वनपथ, गोरेटोबाटो, कल्भर्ट निर्माण, सूचना बोर्ड,  अध्ययन–अनुसन्धान,  जनचेतनाहरु वृद्धि तथा सिप बिकास कार्यक्रम,  संरक्षणसम्बन्धी स्कुल शिक्षा कार्यक्रम,  वन डढेलो व्यवस्थापन तालिम आदि रहेका छन्।

यस उद्यानभित्र पर्ने व्यक्तिको निजी जग्गालाई जग्गा प्राप्ति ऐन २०३४ बमोजिम अधिग्रहण गरी मुआब्जा वितरण गर्नको लागि मिति २०७६–०३–१८ मा प्रारम्भिक कारबाहीको प्रतिवेदन पेश भइसकेको छ भने २०७८ वैशाख १९ गते निर्णय भई प्रमुख जिल्ला अधिकारी मार्फत मुआब्जा प्रदान गर्न बजेट सुनिश्चितताका लागि सिफारिस पठाइएको जसमा कुल बजेट करिब ४९ करोड रहेको संरक्षण अधिकृत रुपक महर्जनले जानकारी गराउनुभएको छ ।

तनहुँको पहिचानका रुपमा रहेको भानुभक्त प्राणी उद्यानले जैविक विविधता संरक्षण संगसंगै यस क्षेत्रमा पर्यटकीय क्षेत्र विस्तार र रोजगारी सिर्जना गर्दै स्थानीय जनताको आर्थिक विकासमा समेत टेवा पुर्याउने देखिन्छ । प्राणी उद्यान तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद माननीय शंकर भण्डारी वनमन्त्री हुँदा उहाँकै पहलमा आफ्नो गृहजिल्लामा पर्नेगरी मन्त्रिपरिषद्को निर्णयद्वारा स्थापना गरिएको थियो । स्थानीय क्षेत्रलाई प्रत्यक्ष लाभ हुने यस्ता कार्यक्रमले व्यक्ति र पार्टीको लामो समय छवि उच्च राख्ने कार्यमा सहयोग पुर्याउने देखिन्छ । (भानुभक्त प्राणी उद्यानको वार्षिक प्रतिवेदनहरु र स्थलगत रिपोर्टका आधारमा तयार पारिएको विशेष सम्पादकीय )

Leave a Reply

Your email address will not be published. Required fields are marked *