दमौली – लामो समयसम्म शिक्षण पेशामा रही निवृत्त भएका ब्यास नगरपालिका वडा नं 10 दुम्सी निवासी यज्ञ प्रसाद शर्माले कृषिमा नमुना कार्य गर्दै उद्यमशीलताको विकास गर्नुभएको छ । कार्यरत पेसाबाट निवृत्त भएपछि धेरैले त्यसैको भरमा जीवन बिताउने गरेकोमा शर्माको जीवनशैली भने फरक पाउन सकिन्छ। शर्मा २८ बर्ष एउटै विद्यालयमा सेवा गरी श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय बाटै निवृत्त शिक्षक हुनुहुन्छ।

एक वर्ष अगाडि 11 रोपनी क्षेत्रफलमा विभिन्न जातिका 300 कागतीका बिरुवा रोपेर सुरुवात गरिएको जसमा निजी लगानी दुई लाख खर्च गरिएको थियो भने यसवर्ष कृषि ज्ञान केन्द्रको थोपा सिंचाई कार्यक्रमले उक्त बिरुवालाई प्रत्येकको जरामा सिंचित गर्ने कार्य भएको पाउन सकिन्छ । नमुना परीक्षणका लागि आएको योजनामा तीनवटा क्षेत्र विभाजन गरिएको तर एकै ठाउँबाट पानी खुलेपछि तीनसय बिरुवा एक घण्टामै एकैपटक सिंचित हुन्छन् यसले पानी एवं समयको पनि बचत भएकोले यस परीक्षण सफल भएको शर्माको भनाइ छ। एक वर्ष अगाडि रोपिएका कागतीका बिरुवाले फल दिन थालेको जसले नियमित आम्दानी तर्फ अगाडि बढ्न सहयोग गर्ने उहाँको भनाई रहेको छ।

विहानी समयमा कृषि कार्यमा सरिक यज्ञ प्रसाद शर्मा

शर्माको मादी नदी नजिक भतेरीमा माछा फार्म साथै केरा खेती समेत रहेको छ आफ्नो जग्गामा रहेको कृषि कार्यका लागि गाईको गउँत एवं मल आवश्यक पर्ने भएकाले त्यसकालागि एक गोठ निर्माण गरी दुई वटा गाई समेत पालेको जसले दुध बाट नियमित आम्दानी पनि हुने र तरकारी एवं अन्य खेतीका लागि आवश्यक मलको व्यवस्थापनमा सहज हुने शर्माको भनाइ छ। यी सबै कार्यका लागि घरमा उहाको श्रीमती पदमा शर्मा ले पूर्ण रुपमा सहयोग गर्नुहुन्छ तर अतिरिक्त कोहि राखिएको छैन शर्मा परिवार आफै खटिनुहुन्छ ।

एकै वर्षमा फल लागेको कागतीका बोटहरू

सामाजिक एवं राजनैतिक क्षेत्रमा समेत राम्रो छवि बनाएका शर्मा एक दर्जनबढी संघसंस्थाहरुमा आबद्ध व्यक्ति हुनुहुन्छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ तनहुँको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका शर्मा नेपाली कांग्रेस वडा नं 10 का निवर्तमान वडा अध्यक्ष एवं शिशुवा भतेरी कृषि सहकारी संस्थाका वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । शिक्षण पेशामा लागेरै दुईवटा छोराहरू कमल शर्मा र सुमन शर्मालाई इन्जिनीयर बनाउन सफल व्यक्ति निरन्तर निबृत्त पश्चात् पनि उद्यमशिलता तर्फ लाग्दै कृषि कार्य एवं सामाजिक र राजनीतिक नेतृत्व लिनुलाई एक नमुना व्यक्तिको रुपमा लिन सकिन्छ । शिक्षकले शिक्षण भन्दा केहि गर्न सक्दैनन् भन्नेहरुका लागि यो उदाहरणीय कार्य समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *