तनहुँ – शिक्षकहरुको लागि लकडाउनले अवसर सावित गरेको छ । समयको सदुपयोग गर्दै तालिममा सहभागी हुनेको माग धेरै आएपछि प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशले योजना बनाएर जिल्लागत तालिम सञ्चालन गर्ने निर्णय गरे बमोजिम तनहुँ जिल्लामा तालिमको आरम्भ गरिएको छ । तनहुँ जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष राजिव श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको औपचारिक उद्घाटन कार्यक्रममा ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, संस्थाका केन्द्रिय अध्यक्ष भुपति बश्याल, जिल्ला स्थित शिक्षा समन्वय प्रमुख रमाकान्त ढुंगाना, स्थानिय तहका शिक्षा प्रमुखहरु नगेन्द्र प्रसाद रेग्मी, नवराज चापागाई, शिक्षक महासंघ अध्यक्ष रामचन्द्र पोख्रेल, विभिन्न पेशागत संघ तथा संगठनका प्रतिनिधिहरु, संस्थाका केन्द्रदेखि प्रदेश र जिल्लाका पदाधिकारीहरु, प्रअहरु एवं शिक्षकहरुको उपस्थिती रहेको थियो ।

 

देशभर र प्रदेशस्तरमा संस्थाले गरेको क्रियाकलापहरुबारे जानकारी केन्द्रिय सदस्य सृजना खनालले प्रस्तुत गरेकी थिईन भने तनहुँको कार्यक्रममा संस्थाले १५ घण्टाको तालिका बनाएर तालिम प्ररम्भ गरेको शिक्षक अनिल श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा मुख्य आकर्षणको रुपमा शिक्षकहरुले कसरी प्रविधिलाई प्रयोग गर्न सक्छन् र निशुल्क उपलब्ध हुने अनलाईन अफलाईन सामाग्रीहरुको प्रयोग कसरी गर्ने सम्बन्धमा प्रस्तुतिकरण केन्द्रिय प्राविधिक सदस्य श्रीकृष्ण आचार्यको रहेको थियो । कार्यक्रममा बक्ताहरुले सरकारले प्रविधिलाई जोडेर बैकल्पिक शिक्षाको औपचारिक प्ररम्भ गरेकाले शिक्षकहरुलाई तयारी गर्नको लागि यस्तो कार्यक्रमले थप सहयोग गर्ने भन्दै तालिममा सहभागीहरुले सफलता प्राप्त गरुन भन्ने शुभकामना ब्यक्त गर्दै संस्थाको यो अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग पुराउने प्रतिवद्धता ब्यक्त गरेका थिए । संस्थाको कार्यक्रम नियमित रुपमा विहान १० बजेबाट १२ बजेसम्म सञ्चालन हुने कार्यक्रम सञ्चालक रुपा घिमिरेले बताएकी छन् । संस्थाको आधुनिक प्रविधि कक्ष सहितको कार्यलय ब्यास–४, मेनरोड दमौलीमा रहेको जसमा शिक्षकहरुले नमुनाको रुपमा अवलोकन एवं थप जानकारी पाउन सक्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *