तनहुँ — विद्यालयमा पढ्न आउने विद्यार्थी संख्या कम भएपछि चालु शैक्षिक सत्रमा जिल्लाका १६ सामुदायिक विद्यालय समायोजन भएका छन्। पालिकाले विद्यालयमा पठनपाठनका सामग्री तथा पूर्वाधार पूरा नभएका, अधिकांश कक्षामा १० जनाभन्दा कम संख्या भएका सामुदायिक विद्यालय एकआपसमा समायोजन गर्न थालेका छन्। विद्यार्थी संख्या कम भएपछि व्यास नगरपालिकाका ५ विद्यालय समायोजन भएका छन्। व्यास–६ स्थित भवानी बालविकास केन्द्र र महेन्द्रजोति मावि एकापसमा गाभिएका छन्। व्यास–१२ स्थित देउराली प्रावि, व्यास–७ स्थित बसन्तकाली प्रावि, जनकल्याण प्राथमिक विद्यालय, क्यामिन छापथोक प्राविलाई नजिकको बालविकास केन्द्रसँग समायोजन गरिएको नगरका सूचना अधिकृत गोकर्णराजवाग्लेले बताए ।

 

शैक्षिक सत्र २०७५ मा पनि ५ सामुदायिक विद्यालय समायोजन भएको नगरपालिकाले जनाएको छ।नगरपालिकाभित्र ७५ सामुदायिक र ४२ निजी विद्यालय छन्। ‘नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको हो,’ वाग्लेले भने। विद्यालयमा प्रर्याप्त पूर्वाधार नभएको, अधिकांश कक्षामा १० भन्दाकम विद्यार्थी संख्या भएका, २ वा सोभन्दा बढी विद्यालयको सेवा क्षेत्र एकापसमा जोडिएको, २ वा सोभन्दा बढी विद्यालय बीचको पैदलदूरी ३० मिनेटभन्दा कम रहेको र २ वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको खण्डमा विद्यालय समायोजन गर्न सक्ने प्रावधान छ।

 

भानु नगरपालिकामा ५८ सामुदायिक विद्यालयमध्ये ४ समायोजन भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईले बताए। उनले भने, ‘विद्यार्थी संख्याको कम भएकाले नजिकका विद्यालयमा गाभिएको हो।’ गाउँपालिका भित्रका ३५ सामुदायिक विद्यालयमध्ये ३ वटा समायोजन भएको आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पदेवी श्रेष्ठले बताइन्। देवघाटमा २ विद्यालय समायोजन भएको गापा उपाध्यक्ष विमला थापाले बताइन्। देवघाट–२ को कमला प्रावि र देवघाट–३ को चण्डिका आधारभूत विद्यालय समायोजन भएका हुन्।

 

कक्षाकोठामा १० जना भन्दा कम विद्यार्थी भएकाले शुक्लागण्डकी नगरपालिकामा पनि चालु शैक्षिक सत्रमा २ सामुदायिक विद्यालय समायोजन भएका छन्। नगरपालिकाका शिक्षा प्रमुख ज्योतिप्रकाश तिमल्सिनाले शैक्षिक सत्र २०७५ मा ६ सामुदायिक विद्यालय समायोजन भएको बताए। भिमाद नगरपालिकामा २०७५ मा ४ वटा विद्यालय समायोजन भएका थिए। बन्दीपुर गाउँपालिकामा हालसम्म ४ विद्यालय समायोजन भइसकेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन्। उनले भनिन्, ‘चालु शैक्षिक सत्रमा गाउँपालिकाले गरेको अनुगमनबाट पनि २ देखि ३ वटा विद्यालय समायोजन हुने अवस्थामा छन्।’ म्याग्दे र रिसिङ गाउँपालिकामा भने अहिलेसम्म एक/एक विद्यालय समायोजनमा परेका छन्।

[साभार ekantipur.com, Samjhana Rasaeli]

Leave a Reply

Your email address will not be published. Required fields are marked *