दमौली- व्यास नगरपालिका शिक्षा शाखाले नगर भित्रका विद्यालयहरूमा शैक्षिक गतिविधि बारे प्रत्यक्ष अनुगमन गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा सोमबार शिक्षा शाखा प्रमुख उपसचिव नगेन्द्र प्रसाद रेग्मी, शिक्षा अधिकृत नवीन पराजुली एवं पत्रकारहरू सहितको टोलीले व्यास ६ शिसाघाट स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा गई कक्षा सञ्चालन कै क्रममा अनुगमन गरेको थियो।

वि. सं २०१४ सालमा स्थापना भएको तनहुँकै पुरानो मध्येको विद्यालयमा पर्ने महेन्द्रज्योति माध्यमिक विद्यालयमा करिब ५ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कक्षा १२ सम्म संचालन रहेको विद्यालयमा विशेष शिक्षाको रुपमा अपांगता भएका केही सुस्त विद्यार्थीहरुका लागि कक्षा सञ्चालनमा रहेको छ । कक्षा ९-१०मा कम्प्युटर विज्ञानको कक्षा समेत सञ्चालनमा रहेको विद्यालयले कक्षा ११-१२ मा भने शिक्षा र व्यवस्थापन समूह सञ्चालन गर्दै आएको छ ।

अनुगमनको क्रममा उपसचिव रेग्मीले कक्षामा प्रवेश गरी विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेका थिए । असल शिक्षाका गुणहरू के हुन् ? भन्दै उपसचिव रेग्मीले कक्षा १० का विद्यार्थीहरुलाई प्रश्न गरेका थिए । कक्षा अवलोकन पश्चात शिक्षकको बीच छलफल गर्दै उनले भौतिक निर्माणमा भन्दा विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा ध्यान दिँदै विद्यार्थी सिकाइमा केन्द्रित रहन निर्देशन दिएका थिए । समय सान्दर्भिक वैकल्पिक सिकाई एवं प्रविधिको प्रयोगद्वारा शिक्षण कौशलतामा वृद्धि गर्दै आधुनिक शिक्षण तर्फ लाग्न रेग्मीको जोड थियो । यसैक्रममा विद्यालयका प्रधानध्यापक बुद्धि कुमार श्रेष्ठले विद्यालयमा शिक्षक स्टाफका लागि स्टाफ कक्ष निर्माण, भवनहरुमा एकै प्रकृतिको रङरोगन, स्वच्छ पानीका लागि यूरोगार्ड र व्यवस्थित कम्प्यूटर ल्याव एवं विद्यालय प्रांगणमा सरस्वतीको मन्दिर निर्माण जस्ता कार्यमा सहयोग गरीदिन आग्रह गरेका थिए ।

विद्यालयमा शैक्षिक वातावरण र बालमैत्री वातावरण निर्माण गर्न योजना ल्याउने र आवश्यक निर्णयहरू गरी थप शैक्षिक गुणस्तर सुधार गर्न निरन्तर लाग्ने साथै पुरानो विद्यालयलाई नयाँ युग सुहाउँदो शिक्षाको गन्तव्यको रुपमा विकास गर्न विद्यालय व्यवस्थापन समिति लागिरहेको नवनिर्वाचित अध्यक्ष केशर बहादुर आलेको भनाइ रहेको थियो । यसैक्रममा अध्यक्ष केशर बहादुर आलेले व्यास नगरपालिकाले निर्णय गरेबमोजिम प्रक्रियामा गई विद्यालयमा पुन: बुद्धि बहादुर श्रेष्ठलाई नै प्रधानाध्यापक उक्त गर्ने निर्णय भएको जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *